सरकार

मोदीजी र म मिलेर इपिजी बनाएका हौँ, अब अघि बढ्छ : प्रधानमन्त्री ओली

इकागज |
भदौ २२, २०८१ शनिबार १८:४४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेपाल-भारतसम्बन्धी प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन अगाडि बढ्ने बताएका छन्।

दुई मुलुकबीच देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएका वेला गठित उक्त समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी रहेकाले उक्त प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ।


शनिवार आफ्नै सरकारी निवास बालुवाटारमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले इपिजी बनाउनेहरू नै दुवै देशका प्रधानमन्त्री भएकाले प्रतिवेदन अघि बढ्ने स्पष्ट पारे। उनले उक्त प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताए।

प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए। उनले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्ध गर्ने काम गर्न नहुने अडान राखे। प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता औंल्याए। 

प्रधानमन्त्री ओलीले भने‚ ‘नेपाल र भारतबीच केही समस्या छन्। समाधान गर्नै नसकिने ठूलो समस्या होइन। भारतीय प्रधानमन्त्रीजी र मैले इपिजी बनायौं। इण्डियाबाट ४ जना र नेपालबाट ४ जनाको टिम थियो। धेरै पछि आएर म प्रधानमन्त्री भएको छु। दुई वटै प्रधानमन्त्री त्यही इपिजी निर्माण गर्नेहरू छौं।’

प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन बुझ्न नेपाल सदैव तत्पर रहेको पनि बताए। उनले भूराजनीतिलाई देखाएर दुई मुलुकबीचको सम्बन्ध कमजोर बनाउन नहुने पनि बताए।


Author

थप समाचार
x