अपराध र आतङ्कवाद नियन्त्रण गर्न अन्तरराष्ट्रिय सहकार्य हुनुपर्छ : गृहमन्त्री
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले अन्ताराष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयामिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्ताराष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्ताराष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताए।
“यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्ताराष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ। साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ”, उनले भने।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।
यस कार्यक्रमले कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र सहयोगका लागि संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको धारणा राखे।
“नेपाल प्रहरीले अन्ताराष्ट्रियस्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको छ। अपराधलगायतका चुनौती सामना गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुत बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील छ”, उनले थपे।
परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायत गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था बलियो बनाउन कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त प्रयास आवश्यक रहेको बताइन्।
प्रहरी महानिरीक्षक वसन्तवहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्ताराष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए।
उनले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य र आवश्यक सहयोग आदानप्रदान गर्दै जटिल अपराध तथा अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए।-रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया