सरकार

जनहितलाई सर्वोपरि ठानेर काम गर्न आग्रह

इकागज |
भदौ २२, २०८१ शनिबार २१:२७ बजे

वीरगञ्ज (पर्सा)- जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनहितलाई सर्वोपरि ठानेर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

जसपा पर्सागढी नगर समितिद्वारा आज यहाँ आयोजित विस्तारित बैठकमा उहाँले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।


उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए ।

“स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौँ,” उनले भने, “हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौँ ।”

 मन्त्री यादवले आफूले यहाँका जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

शनिवार वीरगञ्ज महानगरपालिका–२१ मा आयोजित सम्मान कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।

उनले भने, “जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी वीरगञ्जलाई समृद्ध र विकासको नमूना सहर बनाउने योजना लिएर आएका छौँ । यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ ।”

मन्त्री यादवले स्थानीयस्तरको विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

“सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छन् । त्यसैले सरकार र जनताको संयुक्त प्रयासबाटै विकास अतिविधि अगाडि बढाउन लागौँ”, उनले भने ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले मन्त्री यादवको नेतृत्वमा स्थानीय विकास योजनाहरू प्रभावकारी ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

 


Author

थप समाचार
x