सरकार

संविधान दिवसमा ‘नेसनल डे कन्सर्ट’ हुने

इकागज |
भदौ ३०, २०८१ आइतबार २२:१ बजे

काठमाडौँ - संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो ।

कन्सर्टका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस महत्वपूर्ण कन्सर्टको आयोजना नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने अवसर भएको बताए ।


'यो कन्सर्टले देशभक्तिपूर्ण भावना जगाउनाका साथै हाम्रो सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ । नागरिक सहभागिता बढाउँदै, सबैलाई राष्ट्रप्रति गर्व गर्ने अवसर प्रदान गर्न यसले सहयोग गर्नेछ,'सचिव पुस्करले भने । 

त्यस्तै, बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले पत्रकार सम्मेलनमा कन्सर्टको उद्देश्य देशभक्ति भावना जगाउने बताउँदै यस अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक सङ्गठन, नागरिक समाज, कलाकार र सर्वसाधारणको सहयोगले कन्सर्टलाई सफल हुने धारणा व्यक्त गरे । 

सम्मेलनमा गायिका कुन्ती मोक्तानले कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत हुने गीतसङ्गीत प्रस्तुत हुने जानकारी गराउँदै यो कार्यक्रम कला, साहित्य र राष्ट्रियता उत्सवका साथ मनाउन महत्वपूर्ण अवसर भएको बताए । 

कार्यक्रममा कवि विपना अधिकारीले सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई कला र साहित्यले झल्काउने प्रयास यो कन्सर्टले गर्ने धारणा राखे । त्यस्तै, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय पहिचान र एकतालाई सुदृढ बनाउने उद्देश्यले कन्सर्ट आयोजना गरिएकामा खुसी व्यक्त गर्दै सबको सहभागिताका लागि आह्वान गरे । कन्सर्टमा कुटुम्ब, इलिमेन्ट्सलगायतका चर्चित ब्यान्डको साङ्गीतिक प्रस्तुति रहनेछ ।
 


Author

थप समाचार
x