सरकार

नेपालको शिर ढल्ने प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिन - प्रधानमन्त्री

इकागज |
भदौ ३१, २०८१ सोमबार १५:९ बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए । 


उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए । प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताको लागि राजनीतिक गर्ने तथा आजका लागि र त्यो भन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । ​

उनले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिस्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने जानकारी दिए । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरको विषयमा सामान्य छलफल गर्दा अनावश्यक टिप्पणी भएको जिकिर गरे । 

त्यस्तै उनले पाँचथरमा दुई बालबालिकको निधन भएको घटनामा परिवारलाई पाँच–पाँच लाख दिने निर्णय सरकारले गरेको जानकारी दिए । 

प्रधानमन्त्री ओली असोज ५ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तय भएको छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुँदैछ । त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । 


Author

थप समाचार
x