सरकार

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति

इकागज |
असोज ९, २०८१ बुधबार ७:१७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्नुपर्ने बताएका छन् । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वद्र्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए ।

साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउन यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताएका छन् ।


जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो ।

यस पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको उल्लेख गरेका छन् । उनले प्रकृति पूजामा आधारित यसपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गरेका छन् । -रासस

 


Author

थप समाचार
x