सरकार

अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक

इकागज |
असोज ९, २०८१ बुधबार १६:२८ बजे

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।  विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उहाँले अध्यागमनका कर्मचारीहरूलाई निर्देशन दिए । 


“अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भने । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ थियो ।

सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरूले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै  कर्मचारीलाई समय क्रम अनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहेका थिए । 


Author

थप समाचार
x