सरकार

‘देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ’

इकागज |
असोज ११, २०८१ शुक्रबार १९:० बजे

तस्विरः फाइल फोटो

मोरङ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थिर सरकार र विकासमा गति दिने गरी बाधा अड्चन हटाउन संविधान संशोधनलाई वर्तमान गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन् ।

यसका समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको जानकारी दिनुहुँदै मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेका अधिकार कुनै पनि हालमा नखोसिने बताए । उनले भने,, “संविधान संशोधनमा जनताले थप अधिकार प्राप्त गर्ने छन्, यस विषयमा सरकार र वर्तमान गठबन्धन दल प्रस्ट छौँ । कसैले आतङ्कित र भ्रमित हुन आवश्यक छैन ।”


मन्त्री दाहालले सरकार देशभर रहेका सडक स्तरोन्नति गर्ने कार्यमा विशेष जोड दिएर लागिरहेको बताए । “देशव्यापी रूपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार ५०० किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेका छौँ । वर्षात्का कारण समस्या भएको छ । दसैँमा यात्रुहरूको सहजताका लागि यो कार्य भइरहेको छ”, उनले भने । -रासस

 


Author

थप समाचार
x