सरकार

प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु- गृहमन्त्री लेखक

इकागज |
असोज ३०, २०८१ बुधबार १९:३६ बजे

फाइल फाेटाे

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको उनको भनाइ छ । 


प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र वर्षौ बर्ष देखिका हाम्रा अपेक्षाहरू पुरा हुने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । 

गृहमन्त्री लेखकले कर्तव्य पालनका क्रममा मृत्युवरण गरेका र घाइते भएका प्रहरी कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गर्न हुने बताए । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा गठन भएको सरकारले संक्रमणकालीन न्याय सम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन हुने छ,’ उनले भने, ‘यसले द्धन्द्धको बेलामा मृत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरूको परिवारलाई पनि पीडित सरह परिपूर्ण दिने व्यवस्था गरिएको छ । द्धन्द्धको बेलामा घाइते तथा अपाङ्ग हुनु भएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’ 

सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नु पर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । ‘नेपाल प्रहरीसहितका सुरक्षा निकायहरूले परिश्रमका साथ आफ्नो कर्तव्य निर्वाह गरी रहेका छन् । कहिले कही सुरक्षा निकायबाट हुने कमी कमजोरीका कारण नागरिकबाट ठूलो आलोचना हुन्छ । प्रहरी, कर्मचारी र विभागीय मन्त्रीले आलोचना बोक्नुपर्ने अवस्था सिर्जना हुन्छ । तसर्थ थप सचेतना, सतर्कता र व्यावसायिकताका साथ काम गर्न म निर्देशन गर्दछु ,’ उनले भने । 

२०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उनको भनाइ छ । ‘आम नागरिकको सारथि र जीवनदेखि मरणसम्मको सहयात्री हुन सफल भएको छ । यो महत्वपूर्ण उपलब्धि र आम विश्वास प्रति गौरव बोध गर्दछु। यस अवसरमा  नेपाल प्रहरी परिवारलाई हार्दिक बधाई छ,’ उनले भने । 

राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएको भन्दै नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतीका लागि आफू भूमिका सदैव सहयोगी रहने विश्वास गृहमन्त्री लेखकले विश्वास दिलाए । मुलुक भर महिला तथा बाल–बालिकामाथि हुने हिंसा, कसुरजन्य कार्य, भेदभाव छुवाछुत लगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए । 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सुशासन, समृद्धि र विकासका लागि काम गरिरहेको उनको भनाइ थियो । नागरिक र सरकारलाई जोड्ने प्रतिनिधि नै प्रहरी भएको भन्दै गृहमन्त्री लेखकले नागरिकको अपेक्षामा खरो उत्रिन निर्देशन दिए । 


Author

थप समाचार
x