७ बुँदे सहमतिको स्पिरिटअनुसार नै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
विराटनगर- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको स्पिरिटअनुसार नै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन माेरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढेको छ । सो सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ ,' उनले भने, सरकारले नागरिकको आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएको छ । धेरै काम भएका छन्, केही हुँदैछन् । केही पनि भएन भन्ने होइन । '
उनले पछिल्लो समय शिक्षा, स्वास्थ्य,पूर्वाधारलगायतका क्षेत्रमा भएको प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेको बताए । संविधान संशोधनका विषय सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।
उनले कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि लामाे समयदेखि अन्योलमा रहेको टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए । उनले सरकारले नागरिकको चाहना पूरा गर्ने गरि काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि सिंहले बताए ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले कोशी अञ्चल अस्पतालको निर्माणाधिन भवनको सराेकारवालाहरूसहित निरिक्षण गर्नुभएको छ । कोशी अञ्चल अस्पताल परिसरमै निर्माणाधिन ५ सय शैय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको भन्दै उनले असन्तुष्टि जनाए ।
अस्पताल भवनको निर्माण समयमै सक्ने गरि काम गर्नुस् । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ । जनतालाई छिटै सेवा प्रवाह हुनुपर्छ ,’ उनले भने, निर्माणका क्रममा केही समस्या भए भन्नुस् । मन्त्रालयले,सहजीकरण गर्नेछ । तर, काममा ढिलाई गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने सोच्नुपर्ने अवस्था आउनसक्छ ।'
०७९ पुस १३ गतेबाट निर्माण शुरू भएको अस्पतालको ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएको कामको निरिक्षण र राजनीतिक भेटघाट गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया