पर्यटन क्षेत्रको विकासबाट मुलुक समृद्ध हुने : मुख्यमन्त्री कार्की
फाइल फोटो
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकासबाट मुलुकको कायापलट हुने बताएका छन् ।
प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजना शुभारम्भ गर्दै उनले परियोजनाले पहाडी भेगमा पूर्वाधार निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्यमा पहुँच पुग्नुका साथै बसाइँसराइको अन्त्यसमेत हुने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले नेपालको विकास र समृद्धिका लागि पहिलो प्राथमिकतामा पर्यटन भएको उल्लेख गर्दै प्रदेशले आव २०८१÷८२ को नीति तथा कार्यक्रम एवं बजेटमा यस क्षेत्रको विकासलाई समावेश गरेको बताए ।
उनले शुभारम्भ गरिएका चार वटा पदमार्गको २०८५ साल साउनमा सम्पन्न हुने जानकारी दिँदै यो पदमार्ग मुलुक, प्रदेश र पालिकाका लागि ‘गेम चेञ्जिङ’ हुने विश्वास जनाए । मुख्यमन्त्री कार्कीले भने, “आर्थिक विकास, पहिचान, सामथ्र्य र नेपाललाई विश्वमा पहिचान स्थापित गराउने एकमात्र क्षेत्र पर्यटन हो ।” उनले आगामी पाँच वर्षभित्र प्रदेशले ठूलो आर्थिक समृद्धि हासिल गर्ने दाबीसमेत गरे ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पदमार्ग परियोजनाले पर्यटन व्यवसाय प्रवद्र्धन हुुनुका साथै यस क्षेत्रका विपन्न जनतालाई रोजगार उपलब्ध हुने धारणा राखे । नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा डानियेल म्युवलीले संविधान र सङ्घीयताको सफल कार्यान्वयनमा सधैँ साथ र सहयोग रहने बताए । उनले यस परियोजनाबाट २९ पालिकाको विकास एवं यस क्षेत्रका नागरिकहरुको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरे र फिदिम नगरपालिकाका प्रमुख नेत्रप्रसाद काफ्लेले पदमार्गबाट यसक्षेत्रमा आर्थिक उत्थान, रोजगारी र विकासको पहुँच पुग्ने धारणा राखे । कार्यक्रम संयोजक डा मानबहादुर विश्वकर्माले कोशी प्रदेश पदमार्ग आधारित ‘पर्यटनको सन्दर्भ र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही अवसरमा प्रदेश सरकार, स्विस सरकार र प्रदेशका २९ पालिकाकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी अधिकृतहरुसँग त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउनसम्ममा परियोजना सक्नेगरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो ।
स्वीस सरकारको एक अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, प्रदेश २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत दुई अर्ब ४५ करोड ६१ लाख रहेको छ ।
यो परियोजनाअन्तर्गत चियाबारी पदमार्ग (इलाम, फिक्कल र श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी र इलाम) लालीगुराँस पदमार्ग (तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, वसन्तपुर, जलजले, तीनजुरे र मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिङ्गे, धोत्रे, जलजले, हाँसपोखरी र मयुङ्डाँडा) रहेका छन् । यो पदमार्ग परियोजनाले प्रदेशको समृद्धि र विकासका लागि सहयोग पुग्ने मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए । स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया