सरकार

कांग्रेसको सय दिने विशेष अभियानमा सिंहले भने- काठमाडौँवासीको पिरमर्का र समस्या समाधानमा लागौँ

इकागज |
पुस ८, २०८१ सोमबार १०:४० बजे

काठमाडौँ- उपप्रधान एवम् शहरी विकासमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशिल सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा जोड दिएका छन् । सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस  काठमाडौँ महानगर समितिले क्षेत्रपार्टीमा आयोजना गरेको महागरस्तरीय भेलालाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् । 

सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मूल चुनौति रहेको पनि बताए । 'अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,' उनले भने 'क्रियाशिल सदस्यको संख्या धेरै छ । तर, क्रियाशिल सदस्यहरूलाई  सदस्यताको महत्व बुझाउन नसकेको हो कि ?  अब बुझाउनुपर्‍यो ।'


हरेक क्रियाशिल सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो । देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको र  जनताको पटक पटक विश्वास जितेको कांग्रेस पार्टीको क्रियाशिल सदस्यता सामान्य विषय नभएको पनि उनले बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

काठमाडौँ महानगर समितिले काठमाडौँवासीले भोगेका पिरमर्का र समस्या समाधानका लागि लाग्न पनि सिंहले आग्रह गरे । एक सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । काठमाडौँ कांग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिए ।


Author

थप समाचार
x