सरकार

पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलित

इकागज |
पुस १७, २०८१ बुधबार १९:३४ बजे

फाइल फोटो

जनकपुरधाम- मधेश प्रदेशअन्तर्गतका जिल्लामा पर्ने  स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका हुन्। पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोरत कर्मचारीको गुनासो छ ।


एक वर्ष अगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्र्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरुको भनाइ छ ।

स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो । मधेश प्रदेशमा एक हजार कर्मचारी स्थानीय तहका कर्मचारी कार्यरत छन् ।

सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उनले बताए ।
पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ ।

उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।


Author

थप समाचार
x