सरकार

लोकतान्त्रिक व्यवस्था बलियो बनाउन बलियो कांग्रेस जरूरी छ : नेता सिंह

इकागज |
पुस १९, २०८१ शुक्रबार १७:८ बजे

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय  लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

 उनले ठूलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसकाे संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।


उनले कांग्रेसकै नेतृत्वमा भएकाे आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएकाे स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहनुभएका सिंहले आवश्यक्ताकाे सिद्धान्तअनुसार कांग्रेस – एमालेको सरकार बनेको बताए ।`

 अहिले संसदको दुई ठूला दल मिलेर सरकार बन्दा कही नभएको भयो भनेको सुन्छु । आवश्यक्ताको सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेको हो,´ उनले भने,`साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयाे । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेको हो । ´

उनले आवश्यकताको सिद्दान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएको बताए । राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थीरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए । सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ भने लहान नगरपालिकाकाे कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।


Author

थप समाचार
x