सरकार

१० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न निजी अस्पताललाई कोशी सरकारको निर्देशन

इकागज |
पुस १९, २०८१ शुक्रबार २१:० बजे

फाइल फोटो

विराटनगर- कोशी प्रदेश सरकारले स्वास्थ्य उपचारका क्रममा अस्पताल आउने विपन्न, असहाय, बेवारिसे विरामीको विवरण अभिलेखीकरण गरी प्रतिवेदन पेश गर्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक रुपले विपन्न एवं असहाय विरामीको विवरणसहितको प्रतिवेदन पेश गरी कुल क्षमताको १० प्रतिशत शय्यामा गरिब, असहाय, बेवारिसे विरामीका लागि छुट्याई निःशुल्क रुपमा उपचार गर्न निर्देशन दिएको हो।


मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंका अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि प्रदेशअन्तर्गतका निजी अस्पतालहरूलाई निर्देशनसहित अनुरोध गरिएको हो। 

निजी अस्पतालहरूले निःशुल्क तथा आंशिक सेवा लिने विरामीको विवरण अभिलेखीकरण गरी  मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा सम्बन्धित निकायमा सो प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था मापदण्डमा गरिएको मन्त्रालयले जनाएको छ।

मापदण्डमा भएबमोजिमका व्यवस्था कार्यान्वयन भए–नभएको यकिन गरी अटेर गर्नेको हकमा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण तथा खारेजीसम्बन्धी व्यवस्था आकर्षित हुने प्रशासक प्रसाईंले स्पष्ट गरे। 

कानुनमा भएको व्यवस्था कार्यान्वयन गरी आर्थिक रुपले विपन्न असहाय वर्गलाई स्वास्थ्य सेवा दिन स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न लागेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ।  


Author

थप समाचार
x