सरकार

कुनै दल फुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री

इकागज |
पुस २९, २०८१ सोमबार १४:३६ बजे

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूट र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गरे । उनले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गरे । 


उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए ।  

तत्कालीन समयमा विरोध गर्नेहरूले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरूले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झूटो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए । 

यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

उनले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरूले दिनरात नभनी काम गरेको बताए ।  


Author

थप समाचार
x