सरकार

सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री

इकागज |
माघ १६, २०८१ बुधबार १४:४८ बजे

फाइल फाेटाे

काठमाडौं - गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् । 

राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरे । 


गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिए । 

संविधानको रक्षा, संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै गृहमन्त्रीले सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताए । उनले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमबाट संविधानले परिकल्पना गरेअनुसार मुलुकमा दिगो शान्ति स्थापना, सुशासनसहितको विकास र समृद्धिको यात्रालाई पूर्णता दिन सकिने धारणा राख्दै सरकार सोही बाटोमा दृढतापूर्वक लागेको बताए । 


Author

थप समाचार
x