काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
![](https://ekagajcdn.prixacdn.net/media/albums/prakashman_u4odAhDt6k.jpg)
काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौँ महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
`संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन् । के गर्दा ठूलो कुरा हुने यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?´ उनले भने,`तपाईं हामीले होहल्ला गर्नु पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्यो नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइरहेको छाडेर आएको भनेर भन्छन् । छाडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि ।´
उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो ? भन्दै प्रश्न पनि गरे । उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे । त्यस्तै उनले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस-एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे ।
त्यस्तै फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे । उनले काठमाडौँ क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए । उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।
वडाको प्रशासकीय भवन बनेपछि काठमाडौँ-२९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया