सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुन्छ - प्रवक्ता गुरुङ
![](https://ekagajcdn.prixacdn.net/media/albums/prithibisubba-gurung3_VJlnNbj2uH.jpg)
फाइल फाेटाे
काठमाडौं - सरकारले भूमिसम्बन्धी अध्यादेश लगायतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने दाबी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारू भएको भन्दै उनले जसपा नेपालले यस बारे कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे । प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे ।
त्यस्तै माघ २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ लाइ खारेज गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने बीस लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने ६७० मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविधुत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्व तयारी अघि बढाउन सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै बैठकले नेपाल र युक्रेनबीच कूटनीतिक, आफिसियल र सर्भिस राहदानीबाहकलाइ भिसा छुट दिनेसम्बन्धी सम्झैतापत्र स्वीकृत गर्ने निर्णय समेत गरेको उनले बताए ।
बैठकले बीमा नियमावली २०८१ स्वीकृत गरेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) १७ जनाको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया