सरकार

अराजकता र सामाजिक शान्ति बिगार्न खोज्नेलाई काठमाडौंको नाका कटाउनुपर्छ - प्रधानमन्त्री

इकागज |
माघ ३०, २०८१ बुधबार २०:६ बजे

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक देशको नाम लिएर मुलुकमा अराजकता र सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोज्नेलाई काठमाडौंको नाका कटाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले अनेक देशको नाम लिएर विद्रोह गर्छौँ भन्नेहरू निस्किएको भन्दै मुलुकमा अराजकता र सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोज्नेलाई काठमाडौं नाका कटाउनका लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताएका हुन् । 


देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्हरूले कुनै गतिविधि गर्न थालेमा भने देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकामा त्यस अनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गरे । 

उहाँले संसद्मा थोरै सिट भएर पनि ठुला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्तेहरूबाट चेतेर एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भएको स्मरण गराए । उनले दुई दलको सहमति बमोजिम २०८३ साल असारमा आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाए । 

प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाएपनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने जिकिर गरे । 

प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनी रिक्तताका लागि संघीय संसदमा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूहरुलाई नरहेको स्पष्ट गरे । त्यस्तै उनले जनतालाई निष्पक्ष एवं छिटो छरितोरुपमा सेवा दिन निजामती कर्मचारीहरूलाई निर्देशन दिए । 


Author

थप समाचार
x