सरकार

सुदूरपश्चिमको नीति आयोगले पायो पूर्णता

इकागज |
फागुन २, २०८१ शुक्रबार २१:७ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले पूर्णता पाएको छ । यसअघि सम्म तीन सदस्यीय रहेको आयोग यस पटकदेखि पाँच सदस्यीय बनाइएको हो । आज दुई सदस्य नियुक्त पछि आयोग पूर्ण भएको हो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले नृपबहादुर सुनार र कर्णबहादुर कुँवरलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । सुनार नेपाली कांग्रेस तथा कुँवर नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका हुन् । सुनार कांग्रेस जिल्ला सचिव हुन् भने कुँवर एमाले प्रदेश सचिवालय सदस्य हुन् ।


नवनियुक्त सदस्यहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई आयोगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।

यसअघि उपाध्यक्षमा राना तथा सदस्यहरूमा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भइसकेका छन् । राना र भण्डारी कांग्रेस कोटाबाट उपाध्यक्ष र सदस्य नियुक्त हुँदा चन्द नेकपा एमालेको कोटाबाट सदस्य नियुक्त भएका थिए ।


Author

थप समाचार
x