सरकार

निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन

इकागज |
फागुन ५, २०८१ सोमबार ६:१७ बजे

फाइल फोटो

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिएका छन् । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौ वटा अस्पतालमा पुगी उनले अनुगमन गरेका हुन् । 

मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् । 


अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल,जनकपुर मोडल हस्पिटल जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहोर मैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । 

यस्तै ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । 

एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सीसीटिभीका शनिवार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए । 


Author

थप समाचार
x