सरकार

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जापानका राजदूतको शिष्टाचार भेट

इकागज |
फागुन ९, २०८१ शुक्रबार ७:३५ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए ।

यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गरे । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उनले धन्यवाद दिए ।


मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गरे । उनले मन्त्रिपरिषद्‌बाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गरे ।

भेटमा राजदूत तोरुले विश्व बैंकको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उनको भनाइ थियो ।


Author

थप समाचार
x