सरकार

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री देउवासँग लिए शपथ

इकागज |
साउन १०, २०७८ आइतबार १८:३० बजे

काठमाडौँ - नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथ लगत्तै देउवाले नागरिक सेवामा काम गर्न निर्देशनसमेत दिएका छन् । उनले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन दिएका हुन् । श्रेष्ठलाई नै पछि मन्त्री बनाउने गरी राज्यमन्त्रीको शपथ खुवाएको बालुवाटार श्रोतले बताएको छ । मन्त्रिपरिषद् विस्तारमा केही प्राविधिक समस्या भएपछि स्वास्थ्य क्षेत्रमा भने तत्काल काम गर्न मन्त्रिपरिषद बैठकमा सहभागी हुन पाउने गरि नै श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन् । 


संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने व्यवस्था छ । सोही शपथ पनि राष्ट्रपतिको उपस्थितीमा शीतल निवासमा गराउने गरिए पनि अन्य मन्त्रीहरूको उपस्थितीमा प्रधानमन्त्री सिंहदरबारमा नै शपथ खुवाएका हुन् । 

प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आइतबार नै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले उपप्रधान सहित डां शशांक कोइरालालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए । उनले आफू महाधिवेशनमा केन्द्रित हुने बताएपछि श्रेष्ठलाई यसको जिम्मेवारी दिएका हुन् । गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले फेरि कहिले मन्त्रिपरिषद् विस्तार गर्छन् त्यो भन् अझै निश्चित छैन । 


Author

थप समाचार
x