सरकार

मन्त्रिपरिषद् विस्तार कहिले ?

इकागज |
साउन २०, २०७८ बुधबार १८:४६ बजे

काठमाडौँ - सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँटमा नै स्पष्टता नआएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही समय लाग्‍ने भएको छ । एमाले भित्रबाट माधवकुमार नेपाल समूहले मन्त्रीमा नाम नदिएसम्म कसरी भाग लगाउने भन्ने अन्यौल प्रधानमन्त्री शेरबहादुर देउवामा छ ।

उनले सुरक्षा र कूटनीति जोडिएका मन्त्रालयहरू परराष्ट्र र रक्षा कांग्रेससँग राखेर अन्य मन्त्रालय माओवादी र जनता समाजवादी पार्टी (जसपा) लाई दिने जनाएका छन् । तर, माओवादी र जसपा दुवैको आँखा परराष्ट्र मन्त्रालयमा छ । यद्यपि रक्षा दुवैको रोजाइमा छैन ।


त्यस अलवा ठूला ठेक्का-पट्टा हुने भौतिक तथा पुर्ननिर्माण मन्त्रालयमा पनि माओवादी र जसपाको आँखा गएकै छ । तर, माओवादीबाट कसको नेतृत्वमा सरकारमा जाने टुंगो लागेको छैन । यद्यपि जसपाले आफ्नो नेतृत्व टुंगो लगाए पनि कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन । जसपाबाट उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने तय छ । तर उनले  कुन मन्त्रालय लिने र को-को जाने भन्ने टुंगो भइसकेको छैन ।

कांग्रेसभित्र नै पनि मन्त्रीको टुंगो लागि सकेको छैन । माओवादीमा पनि मन्त्रीका आकांक्षी बढी छन् । पार्टीले पाउने मन्त्रालयको संख्या कम छ । प्रमुख सत्तारुढ दल कांग्रेसमा पनि फरक-फरक गुटले कसलाइ पठाउने भन्‍नेमा अन्यौल छ । देउवाले अन्यको नाम आएपछि आफूले बनाउने मन्त्रीको नाम तय गर्ने बताएका छन् । उनले सत्तारुढ दलका घटक माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग यहाँहररुले नाम नदिए म आफ्नो तरिकाले यहाँहरूका सांसद पनि आफै चयन गरेर सरकार चलाउँछु भनिदिएका छन् । 

उनको यो धारणाले माओवादी र जसपा दुवैमा तरंग आएको छ । किनकी देउवा दलले समर्थन गरेको भन्दा पनि सांसदहरूले व्यक्तिगतरूपमा समर्थन पाएर प्रधनमन्त्री भएका हुन् । उनी अल्पमतमा परे पनि सरकार ढल्ने अवस्था रहँदैन । निर्वाचन गराउने समयसम्म उनै प्रधानमन्त्री रहने निश्चित छ । 

माओवादी प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले सरकारले पूर्ण रूप पाउन अझै केही दिन लाग्ने बताए । ‘माधव जीको स्पष्ट नभएकाले नै मन्त्रालयको विषय छलफलमा नआएको हो । ढिलाइ भनेको नै त्यही हो,’ उनले भने, ‘अन्यमा समस्या छैन । को जाने भन्ने अध्यक्षले पार्टीमा सल्लाह गरेर तय भइहाल्छ । त्यो ठूलो कुरा नै होइन ।’ तर कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषयमा पनि छलफल हुन बाँकी रहेकोले त्यो मन्त्रालय अनुसारको व्यक्ति चयन दलले गर्ने श्रेष्ठले बताए ।

एक दुई दिन अरु हेरेर एमालेका माधवकुमार नेपाल पक्षधरको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद्ले आकार पाउने देउवा निकट एक नेताले बताए । श्रेष्ठकै शैलीमा ती नेताले भने, ‘तत्काल अड्किएको माधवजीको अस्पष्टताको कारण हो । उहाँको भित्र वार्ता पनि चलिरहेको छ । यता आउने कुरा पनि छ । त्यो अन्यौलतालाई नियालेर कांग्रेस पर्ख र हेरमा नै छ ।’ 

श्रेष्ठले माओवादीबाट आफ्नो नेतृत्वमा सरकारमा जाने विषय निर्णय भइनसकेको बताए । उनले भने, ‘यहाँ अनेक हल्ला हुन्छ । मेरो वा अरु कोही साथीको नेतृत्वमा जाने विषयमा छलफल नै भएको छैन ।’ उनले आफू सरकारमा जाने विषय निर्णय नभएको तर जान चाहेको खण्डमा कानुनी अड्चन भने नहुने उनले स्पष्ट पारे । 

केही दिन अघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले पहिला सरकारकाे न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको थियो । कार्यक्रम तय गर्न कार्यदल लागिरहेको छ । 
 


Author

थप समाचार
x