सरकार

सचिवहरूको सरुवा: गृहमा पाण्डे र सञ्‍चारमा अर्याल

इकागज |
साउन २५, २०७८ सोमबार १८:२६ बजे

काठमाडौँ - सरकारले केही महत्वपूर्ण मन्त्रालयका सचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई लैजाने भएको छ भने यसअघिदेखि नै खाली रहेको रक्षा मन्त्रालयमा वित्त आयोगका सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । 

गृह सचिव महेश्वर न्यौयोपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने मन्त्रिपरिषद्का सचिव बैकुण्ठ अर्याललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । यस अतिरिक्त केही सचिवहरूको सरुवाबारे पनि छलफल चलिरहेको एक मन्त्रीले जानकारी  दिए । 


कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले बताए ।  प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याल महालेखा परीक्षकको कार्यालयमा सरुवा गर्ने निर्णय भएको छ । 

नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित प्रथप श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवागरी कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा  पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ । शर्मालाई बढुवा समितिको साउन २४ को सिफारिसअनुसार बढुवा गरिएको उनले बताए ।

यसैबीच, परराष्ट्र सेवाका तीन जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वीतीय श्रेणीका उपसचिवहरू सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सोही सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिइ परराष्ट्र मन्त्रालय वा अन्तरगत पदस्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 


Author

थप समाचार
x