सरकार

उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने

इकागज |
भदौ १, २०७८ मंगलबार ६:९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अगफानिस्तानको घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न आग्रह गरे । 
    
मन्त्री खाँणले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराए । उनले स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, कोभिड सङ्क्रमतिको उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने संयन्त्रको समेत व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि  पोखरेलले जानकारी दिए । 

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रूपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो । 


बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेका प्रयासबारेमा जानकारी गराइएको थियो । सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षाका सम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको छ । 

गृह सचिव पाण्डेले अफगानिस्तान घटनाका कारण नेपालमा कुनै न कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेको बताए। उनले त्यहाँ रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनैतिक सम्पर्क बढाउने, पर्यटन मनत्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर र होटेल क्वारेन्टिनको प्रबन्ध, खोपको व्यवस्थालगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै सीमा नाकामा निगरानी बढाउने, सो घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधिमाथि निगरानी एवम् नियन्त्रण गर्ने गरी तयारी अवस्थामा रहन आवश्यक रहेको उल्लेख गरे । सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारका लागि समन्वय गर्न कार्यदल गठन गरेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको छ । 

त्यस्तै आवश्यक सम्पर्क कायम गर्न भाइबर र ह्वाट्सएप नम्बरसमेत उपलब्ध गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको उद्धारका लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आवश्यक व्यवस्था मिलाइएको बतासकेका छन् । प्रमुख राजनीतिक दलले समेत अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् । रासस
 


Author

थप समाचार
x