सरकार

भीम आचार्यले मुख्यमन्त्री बन्‍न किन हतार गरे ?

बाबुराम भण्डारी |
भदौ १०, २०७८ बिहीबार १६:५७ बजे

विराटनगर- नेकपा एमाले प्रदेश-१ को संसदीय दल बिहीबार बसेको बैठकले भीमप्रसाद आचार्यलाई दलको नेता चयन गर्दै मुख्यमन्त्री बन्न बाटो खोलिदियो । बुधबार बिहानसम्म पनि प्रदेश-१ मा सरकार परिवर्तनको बिषयमा पार्टीभित्र बाहिर कुनै चर्चा परिचर्चा थिएन । आ-आफ्ना जिल्लामा रहेका प्रदेश सांसदहरूलाई अचानक दलको बैठक बस्नुपर्ने भनेर बिहीबार बिहान विराटनगर बोलाइयो ।

दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बुधबार अपरान्हसम्म पनि सोलुखुम्बु सदरमुकाम सल्लेरी थिए । अचानक दलको बैठक बस्नु पर्ने भएपछि उनी रातारात बिहान १० बजेमात्रै विराटनगर आइपुगे । दलको बैठक आह्वान गरिए पनि मुख्यमन्त्री शेरधन राई र आचार्य नै काठमाडौंमा थिए । उनीहरू पनि बिहीबार बिहानमात्रै विराटनगर आइपुगे । 


प्रदेश सभा सचिवालयस्थित दलको कार्यालयमा बोलाइएको बैठक अचानक विराटनगर एयरपोर्ट नजिकैको होटल एसियाटिकमा सारियो । संसद् सचिवालयको क्यान्टिनमा करिब एकसय जनाका लागि अर्डर गरिएको खानाको अर्डर पनि रद्द गरियो । 

एयरपोर्टमा उत्रिने वितिक्कै आचार्य र राई सिधै होटलमा पुगे । माधवकुमार नेपाल निकट भए पनि आचार्यस“ग नजिक रहेका आठ सांसदसहित ३३ जनाले हस्ताक्षर गरेको दलको बैठकको माइन्यूटमा मुख्यमन्त्री राईले संसदीय दलको नेताबाट राजिनामा दिएको र आचार्यलाई नेता चयन गरिएको व्यहोरा उल्लेख गरियो । 

ओली निकट सांसदभन्दा नेपाल समूह छाडेर आचार्यलाई साथ दिन आइपुगेका सांसदहरू जीवन घिमिरे, लिलाबल्लभ अधिकारी र लक्षुमन तिवारी झन हतारमा देखिन्थे । सांसदहरू होटलमा भेला नहु“दै दलको बैठक सकिएको जनाउ दिएर आचार्यलाई दलको नेताको हैसियतमा मुख्यमन्त्री चयन गर्न आग्रह गरिएको पत्रसहित प्रदेश प्रमुखको कार्यालयतर्फ गए । ढिलो बैठकमा पुगेका सांसदहरूले पछि माइन्यूटमा हस्ताक्षर गरे । हतारकै बीचमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले खचाखच भरिएको सा“घुरो हलमा आचार्यलाई मुख्यमन्त्री पदमा पद तथा गोपनीयताको सपथ खुवाए ।

हतार किन ?

नयाँ सरकार गठन गर्न एमाले प्रदेश-१ दलभित्र अहिलेसम्म पनि कानुनी रूपमा स्पष्ट बहुमत छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्यमा चयन भइसकेका चार  प्रदेशसभा सांसदहरू पनि कानुनी रूपमा एमालेकै सांसद भनेर गनिन्छन् ।

उनीहरूले दल विभाजन (दोस्रो संसोधन) अध्यादेश बमोजिम २१ दिनभित्र औपचारिक रूपमा दल रोज्‍ने समय बाँकी नै छ । एमाले संसदीय दललाई बिहीबार परेको एउटा हतार यही विषयसँग जोडिएको छ । एमाले सांसदहरूले दल रोज्‍न अगावै संसदीय दलको बैठक बसेर मुख्यमन्त्री फेर्न जति सहज छ, त्यति सहज पछि हुँदैन । नेकपा (एकीकृत समाजवादी)ले एमालेको सरकार धरापमा पार्ने गरी सांसदहरूलाई आफूतिर लैजाने सम्भावना भएकोले एमालेलाई छिटोछिटो दलको बैठक बस्‍न र मुख्यमन्त्री परिवर्तनको निर्णय कार्यन्वयन गर्न सहज बनाइएको हो ।

अर्को कारण थियो, प्रदेश प्रमुख परिवर्तनको हल्ला । कांग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धन सरकारले प्रदेश-१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई बिहीबार नै हटाइदिन सक्ने हल्ला चलेको थियो । प्रदेश प्रमुख परिवर्तन भएको खण्डमा नेपाल समूहले आफ्नो पक्षका सांसदहरूको विवरण निर्वाचन आयोगमा बुझाएर अनुकुलमा नियुक्त हुने नयाँ प्रदेश प्रमुखलाई त्यसको जानकारी गराइहाल्ने सम्भावना थियो । त्यही भएर पनि दलको नेता परिवर्तनदेखि मुख्यमन्त्रीको शपथसम्मको काम बिहीबार दुई घण्टाको अवधिभित्र सम्पन्न भयो ।

मुख्यमन्त्री चयन भएपछि संचारकर्मीहरूसँगको छोटो प्रतिक्रियामा आचार्यले हतारमै सबै काम गर्नुपरेको बताए । हतार गर्नुको पछाडि पार्टी एकता जोगाउने उद्धेश्य रहेको उनको भनाइ थियो । ‘हामीले तुरुन्तै हतारमै यो सबै निर्णय गर्नुपरेको छ, पार्टी एकता जोगाउनका निम्ति कुनै खालको समस्या नहोस् भनेर यसो गरिएको हो’ मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अहिलेको प्राथमिकताका भनेको स्थिरता हो ।’

अर्को थियो, अचानक आइपरेको हतार । एमाले दलको नेतामा चयन हुँदा नहुँदै आचार्यका भाइ राम आचार्य सुतिरहेकै ओछ्यानमा मृत फेला परे । सुनसरीको इनरुवा नगरपालिका-६ स्थित आफ्नै घरमै भाइ मृत फेला परेपछि आचार्य निकै तनावमा थिए । मानसिक समस्याका कारण औषधी सेवन गरिरहेका उनको सुतेकै ठाउामा मृत्यु भएको जनाइएको छ । 

आचार्यले हतारमै मुख्यमन्त्री कार्यालयमा पुगे र कार्यकक्षमा कार्यभार सम्हाले । मुख्यमन्त्री कार्यालयमा प्रदेश सरकारका प्रमुख सचिवसहित कर्मचारी नेतृत्वलाई छोटो निर्देशन दिंदै उनी सिधै इनरुवा गए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x