बेपत्ता पारिएका व्यक्तिहरूलाई खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की
काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरूलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजि तथा अनुसन्धान गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन दिए ।
उनले भने, ‘तपाईहरूले अभिव्यक्त गर्नुभएका विचारहरू र तपाईहरूका भावनाहरू र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु, यसका लागि सबे सरकोरवालाहरूसँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ, म कानुनमन्त्रीको हैसियतले यसमा योगदान गर्नका निमित्त तयार छु । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैयर्ता प्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउँछु ।’
कार्यक्रममा कानुन बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानुनको परिपालना गरी अघि बढ्नुपर्ने बताए । उनले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । यो पीडितको रोदनको कुरा भएकोले पीडितको माग सम्बोधन हुनुपर्ने बताए ।
उनले भने, ‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरूको, बेपत्ता पारिएका व्यक्तिहरूलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तिमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ ।’
महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया