वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गर्छः मन्त्री कार्की
फाइल फाेटाे
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले देशको संविधानको रक्षा गरेको बताएका छन् ।
सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताएका हुन् ।
राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उनले बताए ।
वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उनले बताए ।
उनले भने, ‘पाँच दलको गठबन्धनले देशमा अहिले मुलुकको राजनीतिलाई एउटा ट्रयाकमा ल्याएको छ । जसरी राज्य संयन्त्रलाई कब्जा गरेर देशलाई अधिनायकवादको बाटो तर्फ उन्मुख गराउने ओलीको जुन प्रयत्न थियो, त्यो प्रयत्न विफल भएको छ । अहिले मुलुकमा संविधानको रक्षा भएको छ । हामीले निर्माण गरेको पद्धतिको रक्षा भएको छ । मुलुक शेरबहादुर देउवाको नेतृत्वमा अहिले विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा मुलुकलाई अहिले अग्रसर गराएको छ । र अबका दिनमा हामीले, हाम्रो पुस्ताले राजनीतिक पद्धतिका निमित्त संघर्ष गर्नु नपरोस् ।’
मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताए । संविधानलाई समयानुकूल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्व गर्नु नहुने उनको भनाई छ ।
उनले देशलाई समृद्ध बनाउनको निम्ति सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया