सरकार

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवदेन

इकागज |
पुस १६, २०७७ बिहीबार १९:१४ बजे

काठमाडौं : लोकसेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । नेपालको संविधानको धारा २९४ मा रहेको व्यवस्था बमोजिम आयोगले वार्षिक प्रतिवदेन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्छ । सोही अनुरूप आयोगले बिहीबार राष्ट्रपतिसमक्ष २०७६ साउन देखि २०७७ असार मसान्त सम्म आयोगबाट सम्पादित काम कारबाहीहरू समेटिएको एकसठ्ठी औं वार्षिक प्रतिवेदन पेश गरेको हो ।
  
आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछिको यो छैठौँ तथा अन्तिम प्रतिवेदन हो । आगामी चैत १० गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधि समाप्त हुँदैछ । यसर्थ निजामती, सुरक्षा निकाय र संगठित संस्थाहरुका पदपूर्ति प्रक्रिया ठप्प हुन नदिन– समयमै आयोगका पदाधिकारीको नियुक्ति हुन उचित पहल हुने अपेक्षा आयोगले गरेको छ । 

प्रतिवेदनमा आयोगले कोभिड १९ महामारीका कारण परीक्षाहरु स्थगित गर्नु परेको समेत उल्लेख गरेको छ । यस प्रतिवेदनमा आयोगबाट सम्पादित पदपूर्ति सम्बन्धी कामकारबाही, आयोगको परामर्शदायी भूमिका अन्तर्गत सम्पादित कार्यहरू, विगतका सुझाव कार्यान्वयनको समीक्षा सहित सार्वजनिक सेवामा गर्नुपर्ने सुरक्षाका विषयमा सुझावहरु प्रस्तुत गरिएको छ । 


आयोगको परामर्शदायी भूमिकालाई औपचारिकताको रुपमा मात्र लिने वा परामर्श नै नलिने कार्यले संवैधानिक व्यवस्थाको वेवास्ता भयो भन्‍ने चिन्ता विगतका वार्षिक प्रतिवेदनहरूमा भएकोमा अहिले यस स्थितिमा क्रमशः सुधार भएको तर केही विषयमा परामर्श नलिएको विवरण यस प्रतिवेदनमा उल्लेख भएको आयोगले जनाएको छ । 

संघीय संरचना अनुरूप तीन तहका प्रशासनीक संयन्त्रबीच समन्वय गर्नका लागि संस्थागत संरचनाको प्रबन्ध गर्न तथा वर्तमान प्रशासकीय कार्यविधिमा रहेका कमी हटाइ सेवा प्रवाह प्रभावकारी बनाउन विभिन्न सुझाव दिएको छ । त्यस्तै संघीय निजामती सेवा ऐनमा समेट्नका लागि गत तीनवटा वार्षिक प्रतिवेदनहरूमा दिइएका सुझावहरु गम्भीरतापूर्वक लिइ नेपाल सरकारबाट कानुन तर्जुमा हुने अपेक्षा सहित यस प्रतिवेदनमा पुनः प्रस्तुत गरिएको छ । 


Author

थप समाचार
x