सरकार

रक्षा मन्त्रालय : मन्त्रीपछि सचिव पनि खाली हुँदै

इकागज |
पुस १३, २०७८ मंगलबार १२:७ बजे

काठमाडौँ- रक्षामन्त्रीबिहीन रक्षा मन्त्रालय बुधबारदेखि सचिव पनि खाली हुँदैछ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलको पदावधि सकिएपछि बुधबारदेखि अवकाश पाउँदैछन् । कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजयसँगै डा. मिनेन्द्र रिजालले मन्त्रीबाट समेत राजीनामा दिएपछि रक्षा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो । रिजालको राजीनामासँगै त्यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा छ ।

रक्षा सचिव पौडेल २७ वर्ष लामो निजामती सेवापछि अवकाश जान लागेका हुन् । उनले २७ वर्षे सेवाअवधिमा १८ वटा निकायमा काम गरेका थिए भने मन्त्रालयकै सचिव कार्यकाल चाहिँ साह्रै छोटो रह्यो । उनी चार महिनाअघि मात्रै रक्षा सचिव बनेका हुन् । त्यसभन्दाअघि क्षेत्रीय प्रशासक, निर्वाचन क्षेत्र निर्धारण आयोग, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, वित्त आयोग हुँदै रक्षा मन्त्रालय पुगेका हुन् ।


उनी २७ वर्षअघि एकैचोटि उपसचिव बनेका थिए, छड्के प्रक्रियाअन्तर्गत । त्यसभन्दा अघि संसद् सचिवालयमा सात वर्ष अधिकृतका रुपमा कार्यरत थिए । शासकीय संयन्त्रको काममा कर्मचारी ‘देखिनु हुन्‍न’ मान्यता अंगीकार गरेका पौडेल कुनै विवादमा आएनन् । उनले ‘सेलिब्रेटी’का रुपमा आफूलाई प्रस्तुत गरेनन् । ‘मलाई सरकारले जुन निकायमा जसरी खटायो, त्यो निकायमा इमान्दारीपूर्वक र बलबुताले भ्याएसम्म राम्रैसँगै काम गरे भन्‍ने लाग्छ । मैले खटाएको संगठन र संस्थाको हितमा काम गरेँ’ उनले इकागजसँग भने ।

उनी आफू सरकारी सेवामा रहँदा पश्चाताप गर्नुपर्ने कुनै काम नगरेको उल्लेख गर्छन् । उनी भन्छन्, ‘मैले पछुतो गर्नुपर्ने या असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । मैले जहाँ काम गरे, त्यहाँ नाक खुम्च्याउन पर्ने, टाउको झुकाउनुपर्ने या कमजोर काम गरे भन्‍न पर्ने अवस्था बिल्कुलै छैन ।’

उनी कर्मचारीले आफूलाई तोकेको काम इमान्दारीपूर्वक गर्‍यो भने शासन-संयन्त्रमा सुधार सम्भव भएको बताउँछन् । ‘पहिलो त, कर्मचारी आफैँ इमान्दार हुनुपर्छ’ उनी भन्छन्, ‘सेलिब्रेटी बन्दै बाहिर ठूला कुरा हिँड्ने तर आफ्नो काम पन्छाउने, अरुका मात्रै कुरा काटेर हिँड्ने, सरकारको विरोध गरेर बस्ने हाम्रो काम होइन । हाम्रो काम त आफूलाई प्राप्त जिम्मेवारी कानुनतः पूरा गर्ने हो । मन, बचन, कर्म र असल मनसायले मुलुकको हितमा काम गर्ने मेरो उद्देश्य रह्यो ।’


Author

थप समाचार
x