संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेनः मन्त्री श्रेष्ठ
फाइल फाेटाे
विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन् ।
माेरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिए । संघीयताको लोकप्रियता बढाउन संसद्को गतिरोध हट्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कर्मचारीको मनोबल बढ्ने हिसाबले ऐन आउने र यसले सबै तहका कर्मचारीलाई सन्तुष्ट बनाउने बताए ।
सरकारले प्रशासन सुधार आयोग बनाउने बताउँदै उनले मुखमा संघीयता र व्यवहारमा एकात्मक सोच हुनुहुँदैन भने । संघले कानुन बनाउने र प्रदेशले विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले प्रदेशको सम्पूर्ण सुरक्षाको जिम्मेवारी प्रदेश प्रहरीमै आउनुपर्ने र प्रदेश प्रहरी पनि सक्षम एवं सबल हुनुपर्ने विचार व्यक्त गरे ।
पाँच वर्षभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार नै सरकारनै निर्वाचनका लागि बजेटको व्यवस्था र निर्वाचनमा जाने तयारी गरिरहेको जानकारी दिए । प्रदेश नं १ का मुख्य सचिव रामप्रसाद घिमिरेले कर्मचारीको व्यवस्थापन, सेवा प्रवाह र वित्तीय हस्तान्तरणका बारेमा जानकारी गराए ।
आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले प्रदेशमा ४२ प्रतिशत कर्मचारीले मात्र काम गरिरहेको र समायोजन भएर आएका कर्मचारीको वृत्तिविकासको सुनिश्चिता नभएकाले उनीहरूमा असन्तुष्टि देखिएको छ भने । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जिल्लामा शान्ति सुरक्षाको स्थिति र विद्यमान समस्याबारे जानकारी गराए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया