सरकार

प्रदेश १ मा पनि जम्बो मन्त्रीमण्डल बनाउने तयारी

आइतबार बिहान ११ बजे मन्त्रीहरुको सपथ

बाबुराम भण्डारी |
माघ २२, २०७८ शनिबार २०:५५ बजे

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भोलि थप आधा दर्जन मन्त्रीहरुको सपथ गराउने तयारी गरेका छन् । गठबन्धन दलहरुबीच भागवन्डा मिलाउनकै लागि उनले हालको सात सदस्यीय मन्त्रिपरिषद्‍लाई बढाएर १२ सदस्यीय बनाउने निर्णय गरिसकेका छन् ।

थपिएका मन्त्रीहरुको विहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण समारोह राखिएको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयका सचिव तुलसी राम सेढाईले आइतबार विहान ११ बजे मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिए । उनले कोभिड १९ को महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाएर सीमित व्यक्तिहरुको मात्रै उपस्थिति हुने गरी सपथ ग्रहण कार्यक्रम तय गरिएको बताए ।


मुख्यमन्त्री राईले सात वटा मन्त्रालय मध्ये चारवटालाई फुटाएर ९ वटा पुर्‍याएका हुन् । फुटाइएका ती मन्त्रालयहरुमा उनले आइतबार मन्त्री नियुक्त गर्न लागेका छन् । मन्त्रालय थपिएपछि प्रदेश १ मा १२ सदस्यीय जम्बो मन्त्रिमण्डल बन्ने निश्चित भएको छ । 

आइतबार विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुन लागेको जनाइएको छ । गठबन्धनभित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक/एकजनाका दरले प्रदेश १ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने जनाइएको छ । जस अनुसार मन्त्रीहरुको जम्मा संख्या १६ जनाबाट पनि बढ्न सक्ने देखिएको छ । 

गठबन्धन दलहरुमा मन्त्री पदका लागि आकांक्षीहरु धेरै देखिएका कारण मुख्यमन्त्री राईलाई मन्त्रीहरुको भाग मिलाउन कठिनाइ बन्दै आएको थियो । उनी त्यसैका लागि केही दिन काठमाडौँमा गठबन्धनका नेताहरुलाई भेटेर मन्त्रीको नाममा सहमति जुटाएर शुक्रबार विराटनगर फर्किएका थिए । हालको ७ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्री यसअघि नै नियुक्त गरेका छन् । गत कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले मंसिर १ गते संसदबाट विश्वासको मत लिएका हुन् । उनले त्यतिबेलै सरकार विस्तार गर्ने घोषणा गरेका थिए । 

आइतबार विस्तार हुन लागेको मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट थप तीन जना मन्त्री बन्न लागेको जनाइएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई/दुईजना मन्त्री बन्न लागेको स्रोतको भनाइ छ ।  गठबन्धनभित्रको तीन सांसद रहेको दल जनता समाजवादीबाट भने यसअघि नै एक मन्त्री नियुक्त भइसकेका छन् । त्यस्तै लिम्बुवान सम्बद्ध संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एकमात्र सांसद पनि राज्यमन्त्री नियुक्त भइसकेकी छन् ।

मुख्यमन्त्री राईले आइतबार नियुक्त गर्न लागेका मन्त्रीहरुको नाम भने गोप्य राखेका छन् । यद्यपि कांग्रेसबाट शेखरचन्द्र थापा, प्रताप प्रकाश हाङ्गाम् र ओमप्रकाश सरावगी मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, माओवादी केन्द्रबाट रामकुमार राई मन्त्री बन्न लागेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x