सरकार

वैदेशिक रोजगार पीडितका गुनासा समयमै सम्बोधन गर्न मन्त्रीको निर्देशन

इकागज |
माघ २३, २०७८ आइतबार १३:५ बजे

फाइल फाेटाे

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् । 


आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको  भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देशन दिए । 

विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले भने – ‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरु आउँदा समयमा उहाँहरुलाई रेस्पोन्स लिइदिनुस् । रेस्पोन्स लिँदापनि, के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिदाँपनि ५० प्रतिशत उसको घाउमा मल्हम लाग्छ । सचिवज्यू र म अहिले आएर हेर्दाखेरी तपाईहरुको कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कैपनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो । यसलाई सुधार्नुस् ।’

विभागको अनुगमनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताए । 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरुले छलफल गरी मन्त्रालयमा पेश गर्न पनि आग्रह गरे । 

   


Author

थप समाचार
x