सरकार

निरौला, सिंह र खनाल सचिव बढुवामा सिफारिस

इकागज |
माघ २५, २०७८ मंगलबार १९:१२ बजे

फाइल फोटो

काठमाडौं : लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो ।

एक सचिव पदका लागि आयोगले तीजना सिफारिस गर्नुपर्ने नियम छ । सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ । आयोग स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव र एकजना विज्ञ सदस्य हुन्छन् । 


सिफारिस परेकामध्ये निरौला हाल गृह मन्त्रालयका सहसचिवका रुपमा कार्यरत छन् । सरकारले निरौलालाई सचिव पदमा बढुवा गरेमा उनको कार्यकाल पूरा अवधिको हुनेछ । त्यस्तै गरी सहसचिव सिंहको निवृत्ति २०८२ सालको जेठ १ गते र खनालको २०८२ साल फागुन २४ गते हुनेछ ।

सिफारिसमा परेका सिंह हाल सञ्चार तथा सूचना प्रविधि र खनाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । यसैगरी प्रशासनतर्फ महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव यामकुमारी खतिवडाको निवृत्ति आगामी जेठ ९ गते हुनेछ । त्यसयता प्रशासनतर्फको सचिव पद रिक्त हुने छैन । 
 


Author

थप समाचार
x