एमालेसँग सहकार्यबारे देउवा, ‘पख्नुस् न त, प्रचण्डसँग फाइनल कुरा गर्छु’
काठमाडौँ– अमेरिकी सहयोग परियोजना, एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धन दलहरूमा विभाजन देखिएपछि नेपाली कांग्रेसभित्र एउटा समूहले प्रधानमन्त्री देउवालाई एमालेसँग सहकार्य गरेर जानुपर्ने सुझाउँदै आएको छ ।
सरकारमा पनि बस्ने अनि सरकारकै प्रस्तावको विपक्षमा कसरी जान मिल्छ, यस्तो द्वैध चरित्र राख्ने दलहरूबाट समाधान निस्कदैंन; फेरि एमसीसी सम्झौताले भूराजनीतिक द्वन्द्व समेत निम्त्याउने जोखिम बढेको भन्दै कांग्रेस र एमाले मिलेर मात्र जोखिम टार्न सकिने भन्नेमा प्रधानमन्त्री देउवा सहमत भएकाे नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।
उनले नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न चरणमा एमालेसँग कुरा गर्न लगाएका छन् । आफैं पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरिरहेका छन् । ओलीले गठबन्धन छाडेर आउनुस् भनेर स्पष्ट सन्देश दिएका छन् ।
‘दुवैतिर माया लगाउन खोजेर हुँदैन, गठबन्धन छोडेर आउनुस् । एमसीसीका सम्बन्धमा हामी स्पष्ट छौं,’ ओलीले देउवासँग भनेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारको प्रस्तावको विरोध गरेर सत्तामा बसिरहन नमिल्ने भन्दै गठबन्धन अघि नबढ्ने संकेत गरेका छन् । उनले सभामुख र एकीकृत समाजवादीका १४ सांसदलाई कांग्रेसले जाेगाइरहन सक्दैन भनेका छन् । देउवालाई अहिले माओवादी केन्द्रलाई सत्ताबाट निकाल्दा एमालेसँग मिल्ने हुन् कि भन्ने शंकाकै कारण लिखित सहमति गर्नेमा पनि एमाले नेताहरूले वचन दिइसकेका छन् ।
स्वयं ओलीले पनि पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई कुनै हालतमा स्वीकार नगर्ने देउवालाई बताइसकेका छन् । कांग्रेस र एमाले नेताहरूको छलफल बाक्लिएको चाल पाएका दाहालले संसदको सबैभन्दा ठूलो दल एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर एमसीसी सम्झौता अघि बढाउनुपर्ने भन्दै ओलीसँग दूरी कम गर्न खोजेपछि देउवा पुनः सशंकित बनेका छन् । यद्यपि, दाहालको यो प्रस्ताव कुनै गम्भीर प्रस्ताव नभएर आफ्नो तत्कालको संकट टार्न फालिएको पासा हो । यस्ता प्रस्ताव अघि सार्न उनी माहिर छन् ।
गठबन्धन निर्माण गर्दा पनि उनले एमसीसी सम्झौता मिलाएर अनुमोदन गरौंला भनेर कांग्रेस नेताहरूलाई वचन दिएका थिए । तर बोली फेरे । विहान एउटा, बेलुका अर्को, भोलि अर्को र पर्सी अर्को कुरा गर्न थालेपछि कांग्रेसका नेताहरू हैरान भैसकेका छन् ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू प्रधानमन्त्रीसँग संवादमा नरहेको तर स्वतन्त्र रूपमा हेर्दा पनि अमेरिकासँगको एमसीसी सम्झौतामा कांग्रेस र एमाले दुई ठूला दल मिलेर अनुमोदन गरी जनतामा रहेका भ्रमलाई स्पष्ट पार्नुपर्ने बताउँछन् । ‘दुई ठूला दलले यसबारे भ्रम चिर्न थालेपछि अन्य दलले निर्वाचनमा मुद्दा बनाएर पनि त्यसको अर्थ हुँदैन,’ उनले भने, ‘झनै एमालेको संसद अवरोधका बीच उसलाई बाहिर राखेरै प्रक्रिया सञ्चालन गर्ने कुराले त झन् भोलिका दिनमा माओवादीलाई एमालेसँग मिल्ने वातावरण तयार गरिदिन्छ ।’
नेकपा एमालेका नेता याेगेश भट्टराईले देउवाले एमालेसँग ब्ल्यांक चेक मागेकाे भन्दै एमालेले अघि सारेका आधारभूत काम नगरी ब्ल्यांक चेकमा सही गरेर एमालेले नदिने बताए ।
कांग्रेसका नेतारूले प्रधानमन्त्री देउवालाई दह्रो खुट्टा टेक्न भनेका छन् । एमालेसँग विभिन्न चरणमा कुरा अघि बढेको छ । उच्च तहमा देउवा र ओलीबीचमै पनि एक्लाएक्दलै कुरा भएको छ । त्यसपछि दुवै दलबीच शंका निवारण र शर्त पूरा गर्न लिखित प्रतिवद्धता गर्ने सम्म कुरा भएको एक नेताले बताए । ‘एमालेसँगको संवाद र मिलेर अघि बढ्ने कुरामा पनि प्रधानमन्त्री देउवाले ल गरौं न त गरौं भन्नुहुन्छ । तर, ल ! अब साँच्चै अघि बढौं न त, भनेपछि उहाँ ‘पख्नुस् न त, प्रचण्डसँग फाइनल कुरा गर्छु’ भन्नुहुन्छ ।,’ ती नेताले भने, ‘प्रधानमन्त्रीलाई अझै यही गठबन्धनबाट समाधान निस्किहाल्छ कि भन्ने आशा मनको कुनै कुनामा बाँकी देखिन्छ, अब प्रधानमन्त्रीले प्रचण्डसँग जति चाँडो ‘फाइनल’ कुरा गरेर अघि बढ्नुहुन्छ, त्यही आधारमा एमालेसँगको सहकार्य तय हुन्छ ।’
आज पनि दाहालले देउवालाई आफूले एमसीसीमा सहयोग गर्न नसक्ने र विपक्षमा रहने सन्देश दिइसकेका छन् । देउवाले यसलाई फाइनल कुरा मान्छन् कि मान्दैनन्, त्यो उनको आगामी कदमले तय गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया