सरकार

बैतडीमा स्थानीय तहको निर्वाचन तयारी तीव्र

इकागज |
फागुन १६, २०७८ सोमबार ९:३२ बजे

बैतडी - जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।  सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।  

मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावलीउपर दाबी विरोध गर्न आह्वान गरिएको छ ।  सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख माधव फँुयालले जानकारी दिनुभयो । मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ ।  उनले भने, 'फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्छौँ, त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुन्छ ।'


मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २३ गतेसम्म राखिएको छ । फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको  छ ।  

जिल्लामा स्थानीय तह निर्वाचनका लागि १२९ मतदानस्थल तोकिएका छन् । यहाँ एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।  


Author

थप समाचार
x