सरकार

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

इकागज |
फागुन १७, २०७८ मंगलबार ६:४० बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शेभकामना दिएका छन् । 

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भन्न् कामना गरेकी छन् । 'नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने  मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो, हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ', सन्देशमा भनिएको छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ । 


वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी छ । रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ  । 

राष्ट्रपति भण्डारीले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका  सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवद्र्धन गर्न प्रण गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । पाशुपत क्षेत्रलगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवं अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवं अध्येताहरूले अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।
 
यसैगरी उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ ।

धार्मिक एवं सांस्कृतिक पर्व सम्बद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।    प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए । 

उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।

नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि पसरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 

राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउनुका साथै राष्ट्रिय एकताको आधारस्तम्भको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।


Author

थप समाचार
x