सरकार

सरुवाका विषयलाई लिएर मुख्य सचिव र सचिवबीच भनाभन

केही सचिवद्वारा रमाना पत्र बुझ्‍न अस्वीकार

इकागज |
फागुन ३, २०७७ सोमबार २०:० बजे

काठमाडौं : छापामार शैलीमा सरुवामा परेका केही सचिवहरूले रमाना पत्र बुझ्‍न अस्वीकार गरेका छन् । मुख्य सचिव शंकरदास बैरागीले सरुवामा परेका सचिवहरूलाई रमाना पत्र लिन बोलाएपछि केही सचिवहरूले अस्वीकार गरेका हुन् । एउटा ठाउँमा सरुवा गरेको भनिए पनि अर्कै ठाउँमा सरुवा भएको पाइएपछि केही सचिवहरूले सरुवामा चरम असन्तुष्टि जनाएका हुन् ।

प्रधाननमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनीहरूले मुख्य सचिव बैरागीलाई प्रधानमन्त्रीसँग परामर्श गर्न दबाब दिएका छन् । मन्त्रिपरिषद्ले बिहीबार गरेको सचिव सरुवाको सूची सार्वजनिक नगरिकन निर्णय तलमाथि गरेपछि मुख्य सचिवसँग सचिवहरूको भनाभनसमेत भएको छ । 


सम्बद्ध मन्त्रीले पनि आफ्ना सचिवको कहाँ सरुवा भएको थाहा पाउन सकेका छैनन् । एक सचिवले भने, ‘रमाना पत्र बुझेपछि मात्र हुन्छ, मन्त्रिपरिषद्को निर्णयपछि पनि नाम तलमाथि भएको छ भन्‍ने सुनेको छु । पाँच दिनसम्म भूमिगत राखेर निर्णय नै तलमाथि गरेको छ । 

केही मन्त्रीले आफ्ना सचिवलाई  दिउँसो बोलाउँदै सरुवा भएको स्थान रमाना पत्र हेरेपछि मात्र थाहा हुने जनाउ दिएका थिए । बिहीबारको मन्त्रिपरिषद्ले सचिव सरुवाको निर्णय गरे पनि त्यसलाई सार्वजनिक नगरी मुख्य सचिवले खुसुखुसु बोलाउँदै रमानापत्र थमाउँदै आएका छन् । 

सरुवामा परेका सचिवलाई आफू कहाँ सरुवा भएँ भन्‍ने कुरा रमाना पत्र हेरेपछि मात्र थाहा हुने स्थिति आएपछि मुख्य सचिवले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भनी सचिवहरू आक्रोशित छन् । सूची सार्वजनिक नभएपछि सिंहदरबारका सचिवहरू अन्यौलग्रस्त थिए । 
 


Author

थप समाचार
x