सरकार

निर्वाचन आयोगको कामप्रति प्रधानमन्‍त्री ओलीको असन्तुष्टि

इकागज |
फागुन ७, २०७७ शुक्रवार १८:० बजे

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिंदै गर्दा पनि आयोगले कार्यतालिकासमेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

‘निर्वाचन गर्नुपर्ने निकायले समयमा गर्नुपर्दछ,’ उनले भने, ‘मैले प्रतिनिधि सभा विघटन गरेपछि ६ गते नै बोलाएर आयोगलाई तयारी गर्नुस् भनेको थिएँ । मैले अस्ती गएर पनि सोधेँ। तयारी गर्दैछौ भन्नु भयो । तर कार्यक्रम प्रकाशित भएको छैन । के तयारी गर्नुभयो ? आयोगको काम त्यति राम्रो देखिएको छैन । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्ने गरी तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गराए ।


देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षड्यन्त्रले निर्वाचनलाई रोक्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे । उनले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफूले परास्त गरेको बताए ।

ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उनको भनाइ छ । ओलीले दाहाल-नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै आफू झगडियाको बीचमा नपर्ने उल्लेख गरे।


Author

थप समाचार
x