सरकार

परराष्ट्रका अधिकारीले धुलिखेल पुगेर गरे कूटनीतिक बहस

इकागज |
फागुन १०, २०७७ सोमबार २१:६ बजे

काठमाडौँ : मुलुकको कूटनीति कसरी प्रभावकारी बनाउने भन्‍ने विषयमा परराष्ट्रका अधिकारीहरूले काभ्रे पुगेर बहस थालेका छन् । गत शनिबार काभ्रेको धुलिखेलस्थित रिसोर्टमा पुगेर परराष्ट्रका सय भन्दा बढी कर्मचारीले बहस गरेका हुन् ।  आगामी दिनमा पनि यसरी नै बहसलाई निरन्तरता दिने परराष्ट्र मन्त्रालयको योजना छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव भरतराज पौड्यालले बहसको थालनी गर्दै सबैको धारणा मागेका थिए । परराष्ट्र मन्त्रालयमा नियमित काममा व्यस्त हुँदा बहसको मौका नै नहुने भएकाले छुट्टै कार्यक्रम गरिएको  मन्त्रालयले जनाएको छ । एकले अर्काको काममा देखेको र मन्त्रालयमा परेको अलमलको विषयमा त्यहाँ खुलेर बहस भएको कर्मचारीहरूले बताए ।


पोस्टिङका लागि सधै माथापच्चिस हुने मन्त्रालयमा कतिपय साथी एकले अर्कालाई मुद्दा हालेर प्यासेजमा मुन्टो फर्काएर हिड्ने अवस्थासमेत रहेकाले पनि यसप्रकारको खुल्ला बहस कर्मचारीलाई आवश्यक रहेको नेतृत्वको बुझाइ छ । हुनत परराष्ट्र मन्त्रालयले यसअघि पनि यस्ता बहस गर्ने र त्यहाँ आएको सुझावलाई कार्यावन्यनमा लैजाने भनेको थियो । तर त्यो खासै प्रभावकारी भएको थिएन ।

सायद अब परराष्ट्र मन्त्रालयले यसलाई नियमित बनाउँदै काम गर्लान कि भन्‍ने लागेको भर्खरै विदेश पोस्टिङ सकेर फर्केकाहरू सुनाउँछन । ‘यहाँ जे पनि यसो गर्ने, उसो गर्ने भनिन्छ अनि निरन्तरता हुँदैन,’ ति अधिकारीले भने, ‘पहिला पनि हरेक हप्ता वा दुई हप्तामा मन्त्रालयको हलमा नै एक जना विज्ञ बोलाएर बहस र अनौपचारिक छलफल गर्ने भनियो । दुई तीनवटा बहस पनि भए तर पछि रोकियो ।’

अहिले सरकारले परराष्ट्र नीतिको खाका नै बाहिर ल्याएकाले त्यो विषयमा अडेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै बहस भएको र त्यो एक/दुई बहसले टुंगो नलाग्‍ने हुनाले निरन्तर हुने अपेक्षा गर्न सकिने अर्का अधिकारीले बताए ।

उनीहरूले परराष्ट्र मन्त्रालयको कार्यशैलीलाई अब कसरी चुस्त र प्रभावकारी बनाउने भन्दै बहस गरेका थिए । मन्त्रालयका अधिकांशले ब्रेन ग्रेन सेन्टर (बीजीसी) मा कसरी आफूलाई सक्रिय बनाउने भन्‍नेमा पनि जोड दिएका थिए । विदेशमा रहेका नेपालीलाई बीजीसीमार्फत नेपालको आन्तरिक नीति र प्रवर्धनमा उपयोग गर्न सरकार लागि परेको छ ।

‘शनिबार विशेषगरी बीजीसीलाई कसरी प्रभावकारी बनाउने र कूटनीति कुन रूपमा कसरी प्रभावकारी र चुस्त बनाउने भन्‍नेमा खुलेर छलफल भएको छ । धेरैजनाबाट राम्रा र नौला सुझाव आएका छन्,’ परराष्ट्र सचिव पौड्यालले भने, ‘आएका सुझावलाई लिएर गर्न सकिने कार्यहरू गर्दै अघि बढ्ने योजना मन्त्रालयको छ । विदेशमा रहेका नेपाली ‘बेस्ट ब्रेन’सँग कसरी सहकार्य गर्ने भन्‍ने विषयमा विभिन्‍न मोडलहरू प्रस्तुत भएका छन् ।’

उनले यसप्रकारको खुला सुझाव र छलफलले कूटनीतिलाई फराकिलो बनाउने बताए । परराष्ट्रमा यतिबेला दुई सय ९५ जना कार्यरत छन् भने त्यस मध्ये आधा विदेश स्थित नियोगमा कार्यरत छन् । भएका आधा मध्येबाट केही छुटे पनि अधिकांशको उपस्थिती बहसमा थियो । परराष्ट्र मन्त्रालयले गरेको उक्त कार्यले अधिकारीहरूलाई रिफ्रेस पनि भएको र धारणा लिने काम पनि भएकाले यस्ता कार्य आगमी दिनमा थप हुनुपर्ने जोड कर्मचारीहरूको छ । मन्त्रालयले पनि यस्ता कार्य गर्दै जाने नीति लिएको छ । 


Author

थप समाचार
x