सरकार

मन्त्रिपरिषद् बैठक : फागुन २३ मा प्रतिनिधि सभा बैठक बोलाउन सिफारिस

केही मन्त्री भन्‍छन् बैठक बोलाउने बारे छलफल नै भएको छैन

इकागज |
फागुन १४, २०७७ शुक्रबार २०:९ बजे

फाइल तस्बिर

 काठमाडौँ  : सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा‍. शिवमाया तुम्बाहाङफेले इकागजलाई जानकारी दिइन् । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै परेको रिटमा मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो । सर्वाेच्चले १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन सरकारलाई परमाधेश जारी गरेको थियो ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै राष्ट्रपति भण्डारीसँग यस विषयमा छलफल गरेका थिए ।


अन्य तीन मन्त्रीले भने प्रतिनिधि सभा बैठक बोलाउने विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल नै नभएको इकागजलाई बताए । बैठकमा नगरपालिकालाई जग्गा उपलब्ध गराउनेदेखि कर्मचारी सरुवा, जिम्मेवारी तोक्ने र मन्त्रालयगत नियमित विषयमा छलफल गरिएको ती मन्त्रीले बताए । ‘संसद् बैठक बोलाउने विषयमा छलफल भएको छैन,’ मन्त्रीहरुले भने, ‘माइन्यूटमा लेखिएको भए थाहा छैन ।’


Author

थप समाचार
x