मतपत्र हरियो हुँदा के हुन्छ ? आयोग भन्छ : मतदाता र गणकमैत्री हुन्छ
काठमाडौँ - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए ।
'मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियो भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो,' उनले भने ।
अघिल्ला निर्वाचनमा पनि हरियो, नीलो, रातो र कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको अभ्यास भइरहेको आयोगको भनाइ छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसिले छपाइ गर्ने निर्णय गरेको सोमबार आयोजित पत्रकार भेटमा जानकारी दिइएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसको बिरोध गरेको गरेका थिए । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै दल विशेषलाई फाइदा पुग्ने गरि आयोगले निर्णय गरेको आरोप लगाएका थिए । कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्न लागेको ओलीको टिप्पणी थियो ।
'के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?' ओलीको प्रश्न थियो ।
उनले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी गरे । मतपत्रमा हुने चिह्नको रंगले मतपरिणाममा प्रभाव पर्ने संकेत ओलीको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया