सरकार

प्रमुख निर्वाचन आयुक्त भन्छन्- निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौ

'यस्तो बेलामा निर्वाचन भएन भने हामीले होइन, लोकतन्त्रले नै हार्छ'

बाबुराम भण्डारी |
चैत २९, २०७८ मंगलबार ११:३३ बजे

बिराटनगर - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । मंगलबार बिराटनगरमा आयोजित निर्वाचन आचारसंहिताबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको रकेट उडिसकेकोले त्यसलाई यताउता गर्नै नसकिने बताए ।

उनले आयोगले ३० जिल्लाको मतपत्र छापिसकेको, निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा निर्वाचन सर्ने कुरा सोच्नै नसकिने स्पष्ट पारे ।


'३० जिल्लाको त मतपत्र नै छापिइसकेको छ, आजको अवस्थामा जहाज पनि होइन त्यो । एकछिन रोक्न पनि सकिएला, अर्को एयरपोर्टमा लैजान सकिएला, अहिले त निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्था हो' थपलियाले भने, 'यस्तो बेलामा निर्वाचन भएन भने हामीले होइन, लोकतन्त्रले नै हार्छ ।'

निर्वाचनको समयमा मिडियाबाट पनि भ्रामक कुरा आउनसक्ने भएकोले पत्रकारहरूले तथ्यमा रहेर समाचार लेखिदिनु पर्ने बताए । साथै निर्वाचनप्रति जनविश्वास घटाउने जओखिम रहेको र धमिलो पानीमा माछा मार्न सकिन्छ भन्ने प्रवृत्ति बढेको बताए ।

प्रमुख आयुक्त थपलियाले आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितब्ययी निर्वाचन गराउन केन्द्रीत भएको उनले बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट ४१ प्रतिशत महिलाको पहुँच कायम भएकोले आयोगको यसपटक त्यसलाई ४५ प्रतिशत पुगोस भन्ने चाहना रहेको बताए ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र मिडियाहरूले अघिपछिको समयमा भन्दा निर्वाचनको बेलामा आचारसंहिता पालनामा बढी ध्यान दिनुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पार्टीहरूको चुनाव पत्रकारहरूलाई धेरै लाग्ने भन्दै पत्रकारलाई चुनावमा उम्मेदवार हुनबाट जोगाउनै चर्को हुन थालेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x