खाडी

खाडीमा कार्यरत १० लाख नेपालीले कोभिड-१९ विरुध्दको खोप लगाउन पाउने

चन्द्रशेखर अधिकारी |
पुस २८, २०७७ मगलवार २०:३५ बजे

काठमाडौँ : खाडी क्षेत्रमा कार्यरत झण्डै १० लाख नेपालीले कोभिड-१९ विरुध्दको भ्याक्सिन (खोप) लगाउन पाउने भएका छन् । कतिपय प्राथमिकतामा परेकाहरूले खोप लगाइसकेका छन् । खोप लगाएकालाई ‘खोप-कार्ड’ समेत दिन थालिएको छ । उनीहरू खाडीको एक अर्को मुलुकमा जाँदा राहदानीसँगै त्यो कार्ड बोक्नुपर्ने हुन्छ । जसले गर्दा आउँजाँउमा समेत सहजता हुने देखिएको छ ।

साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, ओमान र कुवेतमा खोप लगाउन थालिएको हो । उनीहरूले ती मुलुकहरूमा तीन साता अघिदेखि त्यस्तो खोप लगाउन थालेको त्यस क्षेत्रका राजदूतहरूले जानकारी दिएका छन् ।


राजदूतहरूका अनुसार, ती मुलुकमा पहिले फ्रन्टलाइनरहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उध्दारकर्मी) त्यसपछि ७० वर्षमाथिका, अनि ६८ वर्षमाथि, त्यसपछि ६५ वर्षमाथि गर्दै सबैमा त्यो खोप पुर्‍याउने तयारी छ ।

उनीहरूले अमेरिकी कम्पनीको खोप लगाइरहेका छन् । फाइजर र मोर्डना खोप लगाएका हुन् । कतार, साउदी, युएई र बहराइनले केन्द्रबाट प्राथमिकतामा परेकालाई खोप लगाइरहेको छ । त्यस्तै, कुवेत र ओमानले पनि लगातार खोप लगाइरहेका छन् । साउदीले पनि व्यापक रूपमा खोप लगाउने तयारी अघि बढाएको जनाएको छ ।

सबै मुलुकमा पहिलो चरणमा जेष्ठ नागरिक, विरामी र स्वास्थ्यकर्मीलाई खोप दिने र अन्यलाई विस्तारै दिँदै जाने गरी प्रक्रिया अघि बढेका हो । उनीहरूले प्राथमिकता तय गरेर त्यसैका आधारमा स्वदेशी र विदेशी नभनिकन खोप दिइरहेका छन् । त्यहाँका सरकारले तय गरेको समूहमा नेपाली परे उनीहरूले पनि खोप लाउन पाउने खाडी क्षेत्रका राजदूतहरू बताउँछन् । 

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र पी. सिंहले आफूले उमेरको आधारमा खोप लगाउन पाए पनि आफ्ना नागरिकले लगाएपछि मात्रै लगाउने भन्दै नेपालीको पालो आएपछि लगाउने बताएका छन् । उनलाई खोप लगाउन साउदी सरकारले भनिरहेको छ । तर साउदी मात्र होइन सबै जसो खाडी मुलुकमा मुटुरोगी, दमका रोगी र पटक-पटक कोरोना लागेका नेपालीले खोप लाउन पाइसकेका छन् ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले भने खोप लगाएका छन् । उनले सबैको पालो आउने भन्दै आफ्नो उमेर समूहअनुरुप खोप लगाउने पालो आएको बताए । त्यो क्राइट एरियामा परेका कैयनले खोप लगाइसकेका छन् । कतारको कुल जनसंख्याको साढे बाह्र प्रतिशत नेपाली श्रमिक रहेकाले पनि नेपालीलाई उनीहरूले खोप नलगाए कसरी सुरक्षित होलान् सायद यही स्मरण गरेर सबैले खोप निःशुल्क लगाउन पाउनेछन् ।

औषधि उपचारमा समेत फरक नगरेका खाडी राष्ट्रले भ्याक्सिनमा झनै फरक व्यवहार गर्दैनन् भन्‍ने उदाहरण राजदूतद्वयलाई खोप लगाउन गरेको आग्रहले पनि पुष्टि हुन्छ । कोरोनाले ती सबै मुलुकमा नेपालीहरू प्रभावित भएका थिए । दुई लाख बढी नेपाली रहेको यूएईले आप्रवासीसहित आफ्ना नागरिकलाई खोप लगाउन थालिसकेको छ । खोपले मान्यता नपाउनु अगाडि नै यूएईमा कार्यरत सयौं नेपालीले परीक्षणका रूपमा खोप लगाएका थिए ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले पनि नेपालीले खोप लगाउन पाउनेमा कुनै समस्या नभएको बताइन । उनले भनिन, ‘सबै नेपालीले खोप लगाउन पाउँनेछन् । प्राथमिकता तय गरेर खोप लगाउने काम भइरहेको छ ।’ तीन साता अघिदेखि खोप लगाइरहेको साउदीले झै ओमानले पनि नेपालीहरूलाई खोपका लागि नाम लिइरहेको र प्रक्रिया अघि बढाएको छ ।

खाडी क्षेत्रमा बहराइनपछि खोप प्रवेश गराउने साउदी अरेबिया हो । साउदीले प्राथमिकतामा परेको स्वदेशी र विदेशीलाई पहिलो दिनमै खोप लगाएको जानकारी दुतावासले दिएको छ । उपचारका मामिलामा स्वदेशी र विदेशीबीच कुनै भेदभाव नगरेको साउदीले खोपमा भेदभाव नगर्ने नीति लिएको राजदूत सिंहले इकागजलाई बताए ।

मुलुकमा भन्दा पहिले श्रम गर्न गएको मुलुकमा खोप लगाउन पाउन थालेपछि नेपाली दंग छ्न् । खाडीमा काम गर्नेहरूले थप सुरक्षित भएको आभास उनीहरूलाई मिलेको छ । कोभिड-१९ फैलँदै जाँदा निकै समस्या भएर नेपाल आएकाहरू पनि त्यही सुरक्षित हुने अनुभव गर्दै कतिपय जान मिल्नेहरू फर्कन समेत थालेको पनि राजदूतहरूको धारणा छ ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले पनि यहाँ खोप लगाउने काम भइरहेको र नेपालीले पनि त्यो खोप लाउन पाउने बताए । ‘खाडी राष्ट्रमा कोभिडको त्रसले पहिले नै घर फर्कन आतुर पनि काममा फर्कन आतुर गर्दैछन्,’ भण्डारीले भने । कतिपय नेपालीहरूले छिटो खोप लगाउन आफूले काम गरेको कम्पनीलाई समेत आग्रह गरिरहेका छन् । कसैले केन्द्र खोलेर कसैले एप्समार्फत् आवेदन लिएर त कसैले शिविर खडा गरेर खोप दिन थालेका छन् । उनीहरू पहिलो, दोस्रो चरण पार गरेर तेस्रो चरणमा खोप दिने काम गरिरहेका छन् ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x