सिकलसेलका गर्भवतीमा मृत्युको जोखिम उच्च
नेपालगञ्ज- सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरूको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो । भेरी अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्यु दर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए ।
उनले देशभरका चार हजार थारूलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको संख्या धेरै भएको जिकिर गरे । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको बताइएको छ ।
बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको संख्या धेरै भएको उनले उल्लेख गरे । राप्ती सोनारी गाउँपालिका-४ मा ३७३ को सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ मा सिकलसेल पुष्टि भएको उनले बताए ।
उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने औँल्याए । 'नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ,' डा पाण्डेले भने ।
उनले थारु समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढी देखिए पनि अन्य जातजातिका बिरामीमा पनि यो रोग देखिएको बताए । 'विशेषगरी थारु समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातिका बिरामी पनि फाटफुट फेला परेका छन्,' उनले भने । पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया