स्वास्थ्य

दशैँमा खाँदो खाने, नखाँदो बाड्ने

डा. अरुणा उप्रेती |
असोज २८, २०७७ १०:३० बजे

दशैँ र खानपान एक अर्कासँग जोडिएर आउँछन् । दशैँका बेला थरिथरिका परिकार बनाउने चलन छ । अरु बेलामा दुईथरि खानेकुरा खाए पनि चाडपर्वका बेलामा थुप्रै परिकार बनाउछौँ । खाँदो खान्छौँ, नखाँदो फ्याँक्छौँ । अन्‍नले हाम्रो प्राण धानेको हुन्छ । चाडपर्वका बेलामा मात्रै होइन कहिल्यै पनि खानेकुरा फ्याँक्नु हुन्न । खानेकुरा फ्याँक्दा वातावरणमा समेत असर परिरहेको हुन्छ । खानेकुराका सम्बन्ध किसानको मेहनतदेखि ग्यासको खर्चसम्म जोडिएको हुन्छ ।

पहिला कुरा फरक थियो । कोरोना थिएन । आर्थिक रुपमा धेरैलाई गाह्रो थिएन । यो वर्ष परिस्थिति फरक छ । यो दशैँमा हामीले दशैँ, खानपान र खर्चको तालमेल मिलाउनु जरुरी छ । अघिल्ला वर्ष पाँचथरि खानेकुरा बनाउथ्यौँ भने यस वर्ष दुई थरि खानेकुरा बनाऔँ । बाँकी तीनथरि खानेकुरा बनाउने खर्च वृद्धा आश्रम, बालबालिकालाई हेर्न संस्था वा मजदुरको हातमा हालौँ । किनभने, पाँचथरिको ठाउँमा तीन थरिको परिकार खाँदा स्वास्थ्यलाई घाटा होइन फाइदा नै हुन्छ ।

कोरोनाले खान नपाएर टुँडिखेलमा हजारौँ मानिस बसिरहेका छन् । उनीहरूलाई सम्झिएर पनि खानेकुरा बढी पकाउने र फ्याँक्ने गर्नुहुँदैन । हामीले फ्याँकेको एक-एक गाँसले कसैको दशैँभरिको छाक टर्न सक्छ । चाडपर्वको बेलामा पेट भरिसकेपछि पनि कोची-कोची खाने बानी छ । त्यसले हाम्रो स्वास्थ्यमा एकदमै नराम्रो असर गर्छ । चाडपर्वपछि धेरैले आफ्नो तौल बढेको गुनासो गर्छन् । मधुमेह, मुटुको रोग भएकालाई दशैँ दशा बन्छ । यस्तो बेलामा हामीले स्वास्थ्यमा निकै ध्यान पुर्‍याउनुपर्छ । मीठो भयो भन्दैमा शरीरले पचाउनै नसक्ने गरी धेरै खानु हुँदैन । बजारका पत्रु खानेकुरा (जंक फुड) बाट टाढै बस्नुपर्छ ।

दशैँमा मासु धेरै खाइन्छ । मासुमा प्रोटिन हुन्छ । त्यसले स्वास्थ्यमा राम्रो गर्छ । तर, दशैँको नाममा दैनिक मासु खानाले शरीरलाई राम्रो गर्दैन । मासु दिनको तीनचोटी खाने होइन । दिन बिराएर खानुपर्छ । त्यस्तै, मासुसँगै हरियो तरकारी र गेडागुडीहरू पनि खानुपर्छ ।

आयुर्वेदमा एउटा सिद्धान्त छ । हामीले आधा पेट मात्र खानेकुरा खानुपर्छ । बाँकी रहेको आधा पेट हामीले पानी र हावाको लागि राख्नुपर्छ । यसो गर्दा खानेकुरा राम्रोसँग पच्छ । कुपोषण वा अन्य स्वास्थ्य समस्या नभएकाहरूले कम खाँदा त्यसले शरीरमा सकारात्मक नै असर गर्छ । तर, हामीले चाडपर्व नै नभए पनि आफूलाई चाहिनेभन्दा बढी खानेकुरा खाइरहेका हुन्छौं । ४० वर्ष नाघेपछि शरीरले २० वर्षे युवाको जस्तो खाना पचाउन सक्दैन । शारीरिक श्रम गर्ने र कुर्सीमा बसेर काम गर्ने मानिसको खान्की एकैनासको हुँदैन ।

धेरैजनालाई कोक, फ्यान्टा, ड्यु जस्ता पेय पदार्थ घरमा नभित्रिएसम्म दशैँ आएको जस्तै लाग्दैन । ती पेय पदार्थबिनाको दशैँ के दशैँ भन्नेहरू मूर्ख हुन् । संसारमा सबै कुराको औषधि भएपनि मुर्खताको औषधि हुँदैन । हामीसँग कागतीको रस हुन्छ । विभिन्न फलफुलहरूको रसबाट घरमै जुस बनाउन सकिन्छ । दही हुन्छ । मोही हुन्छ । यस्ता स्वस्थकर कुरालाई छाडेर हामी अनावश्यक कुरामा पैसा खर्च गरिरहेका हुन्छौँ । यस्ता पेय पदार्थहरू मन्द विष बराबर हुन् । तत्कालै यसको असर नदेखिए पनि भविष्यमा यसले ठूलो असर निम्त्याउँछ । कसैलाई माया गरेर पेय पदार्थ र पत्रु खानेकुरा दिनु भनेको ‘तेरो स्वास्थ्य नराम्रो होस्’ भनेर श्राप दिनु बराबर हो । (प्रस्तुतिः सृजना खड्का)
 



Author

डा. अरुणा उप्रेती

डा. उप्रेती जनस्वास्थ्यविद् हुन् । उनी रैथाने खानपान र उपचार पध्दति प्रचारक हुन् ।


थप समाचार