स्वास्थ्य

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले ५०औँ वार्षिकोत्सव मनाउने

इकागज |
असार २८, २०७९ मंगलबार १२:१ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले (इन्स्टिच्युट अफ मेडिसिन) ले ५०औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रम मनाउने भएको छ ।

संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले चिकित्सा शिक्षा र सेवामा स्वर्णिम इतिहास  बोकेको यस संस्थाको ५० औं वर्षसम्म आइपुग्दा दक्ष जनशक्ति उत्पादन गरी देशमा उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको बताइन् ।


उनले संस्थान नेपालमै चिकित्सा शिक्षा अध्यापन गर्ने पहिलो संस्था रहेको उनले प्रस्ट पारिन् । उनले संस्थानको वार्षिकोत्सवको अवसरमा एकेडेमिक मिट, फुटसल, रक्तदान, सांस्कृतिक कार्यक्रम, वाकथन लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन । संस्थानको वार्षिकोत्सवको मुख्य कार्यक्रम भने साउन १ गते हुनेछ । सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

हालसम्म संस्थानबाट स्नातक तह एमबीबीएस, बीडीएस र बीपीएच लगायतका कार्यक्रममा २६ हजार १६३ जना र स्नातकोत्तर तथा विद्यावारिधि तहका ४ हजार ९५६ जना स्वास्थ्य जनशक्ति उत्पादन भइसकेका छन् ।

संस्थानको सम्बन्धन प्राप्त कलेजहरूबाट ९ हजार ४ सय जनशक्ति उत्पादन भइसकेको डा शाहले बताइन् ।

संस्थानका अहिले ७ वटा आंगिक क्याम्पस र १७ वटा सम्बन्धन प्राप्त कलेजहरु छन् । स्थापना सन् १९७२ मा भएको हो । संस्थान अन्तर्गत नै नेपालमा पहिलोपटक सन १९७८ बाट एमबीबीएसको पढाइ सुरु भएको हो ।

 

 


Author

थप समाचार
x