स्वास्थ्य

विधेयक पारित भएकोमा नेपाल चिकित्सक संघको स्वागत

इकागज |
असार ३०, २०७९ बिहीबार १६:३९ बजे

काठमाडौँ- नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ ।

नेपाल चिकित्सक संघले बिहीबार पत्रकार सम्मेलन गर्दै बुधबार प्रतिनिधि सभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो । विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्‍वास संघले व्यक्त गरेको छ ।


पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यो व्यवस्था गर्नका लागि आफूहरुले निकै मिहिनेत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउए । उनले कानूनको कार्यान्वयन हुनेमा विश्‍वास पनि व्यक्त गरे ।

उनले यस किसिमको व्यवस्था गरिएको विधेयक पारित हुनु चिकित्सा शिक्षाका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।   


Author

थप समाचार
x